• राजनीति

    गीता छोएर कमल थापाले खाए पार्टी नफुटाउने कसम

      ओमकार टाईम्स


    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले हिन्दूहरुको आस्थाको केन्द्र भगवान पशुपतिनाथलाई साक्षी राखेर अब पार्टी नफुटाउने कसम खाएका छन् । उनले सो कसम खाँदा मञ्चमा राखिएको ‘भागवात गीता’ पुस्तक समेत छोएका थिए ।

     

    यसअघि नेताहरुकै कारण पार्टी पटक पटक फुटेको भन्दै अब पार्टी नफुटाउन माग नेता कार्यकर्ताले गरेका थिए । राष्ट्रियसभा गृहमा बुधबार आयोजित राप्रपा र राप्रपा संयुक्तको एकीकरण समारोहमा राप्रपा काठमाडौंका जिल्ला सचिव हरि प्रसाद अघिकारी पार्टी नफुटाउने कसम खान माग गर्दै गीता बोकेर मञ्चमा पुगेका थिए । सो क्रममा कार्यक्रम हलमा केहीबेर तनाव समेत हुन पुगेको थियो ।

     

    कार्यकर्ताको माग र चाहनाअनुसार कमल थापाले आफ्नो सम्बोधनको सुरुमै भगवान पशुपतिनाथलाई साक्षी राखी गीता छुँदै आफूले पार्टी नफुटाउने प्रतिबद्धता जनाएका थिए ।

     

    उनले आफू कुनै पनि हालतमा पार्टी फुटाउने पक्षमा नरहेको भन्दै अन्य दुई अध्यक्ष पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी पनि पार्टी फुटाउने पक्षमा नरहेको बताए । आफूहरुको उमेरको कारणले पनि अब त्यो अवस्था नरहेको उनको भनाइ थियो ।

     

    उनले पार्टी एकताको आजको दिन कोषेढुंगा सावित उनले दावी गर्दै पार्टी निर्माणमा विगतमा संस्थापक नेता स्वर्गीय सूर्यबहादुर थापाले खेलेको भूमिकाको पनि प्रशंशा गरे ।

     

    थापाले पार्टी एकताबाट आफू खुसी र सन्तुष्ट रहेको बताउँदै आफ्नो चार वर्षे कार्यकाल पूरा नहुँदै पार्टी एकता गराउन सकेकोमा गौरवान्वित भएको पनि धारणा राखे ।

     

    पार्टी एकीकरणअघि आफू एक्लो अध्यक्ष भएपनि एकतापनि तीन अध्यक्ष हुने व्यवस्था रहेको बताउँदै उनले यसले पार्टी सञ्चालनमा थप सहज हुने धारणा राखे ।

     

    ‘पहिले पार्टीमा म एक्लै नेतृत्वमा थिएँ । एकतापछि पार्टीमा दुई अध्यक्ष थपिँदा बोझ घटेको छ, पार्टी सञ्चालन गर्न पनि सहज हुन्छ’, थापाको भनाइ थियो ।

     

    उनले पार्टी एकता कुनै शक्तिकेन्द्रको दवावमा नभएको स्पष्ट पार्दै यो एकता कार्यकर्ताको भावना र चाहनाअनुसार भएको बताए ।

     

    ‘स्वदेशी तथा विदेशीको दवावमा पार्टी एकता भएको होइन, कार्यकर्ताएको दवाव र मुलुकको वर्तमान अवस्थाको विकल्पलाई मध्यनजर गर्दै एकताको वातावरण सिर्जना भएको हो’, थापाले भने, ‘निर्वाचनको परिणामबाट कार्यकर्ताले दिएको दवावबाट हामीले धेरै शिक्षा पनि लिएका छौं ।’

     

    थापाले आगामी दिनमा पार्टी एकता गर्न नपर्ने गरी अघि बढ्ने प्रतिवद्धता जनाउँदै पार्टी संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डामा अडिग रहने स्पष्ट पारे ।

     

    तर आफ्नो पार्टी परिवर्तनको विरोधीचाहिँ नभएको उनको स्पष्टोक्ति थियो । उनले भने, ‘हामी परिवर्तन विरोधी होइनौं । आध्यात्मिक विकासको पक्षपाति हौं, हिन्दुराष्ट्र सहित विप्लव समूह र राजा अटाउने प्रणालीको अवलम्बन गर्न खोज्छौं ।’

     

    वर्तमान अवस्थामा मुलुककमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको आरोप लगाउँदै थापाले त्यो लूटतन्त्रमा सरकार सँगसँगै प्रतिपक्षी पनि मतियार बनेको बताए ।

     

    घोषणासभामा राप्रपाका एक्ला प्रतिनिधिसभा सांसद राजेन्द्र लिंदेनले नेताहरुको बलमिच्याइँले पार्टीमा विभाजन आएको भन्दै अब यस्तो गल्ती दोहोर्याउन नहुनेमा जोड दिए ।

    रातोपाटी

    प्रतिकृया दिनुहोस