• देश

    ‘विप्लव समूह’ प्रतिबन्धको एक वर्ष : नियन्त्रण गर्न सरकार असफल !

      ओमकार टाईम्स


    काठमाडौं : सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई प्रतिबन्ध लगाएको आज (बुधबार) एक वर्ष पूरा भएको छ । सरकारले विप्लव समूहको गतिविधिलाई नियन्त्रण गर्न ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

     

    विप्लव समूह ०७५ फागुन ११ गते ललितपुरको नख्खुस्थित एनसेल टावरमाथि विस्फोट गर्दा बाटोमा हिँडिरहेका एक जनाको ज्यान गएको थियो । उक्त विस्फोटपछि बसेको मन्त्रिपरिषद बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

     

    विप्लव समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेकोभन्दै सरकार आक्रामक रुपमा प्रस्तुत भएर विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । तर, आफूमाथि सरकारले प्रतिबन्ध लगाएको एक वर्ष पूरा भएको दिन आर्थत ०७६ फागुन २८ गते आज (बुधबार) बिहानै निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्तिन घरमा कुकर बम विस्फोट गराएको छ । उक्त घटनाको जिम्मेवारी विप्लव समूहले लिएको छ ।

     

    यस घटनाले के देखाउछ भने न राज्यले विप्लवलाई पूर्ण रुपमा नियन्त्रण गर्न सक्यो न त उक्त पार्टीले राज्यलाई ‘लाचार’ बनाउन नै सक्यो ।

     

    यही फागुन ७ गते राति सेक्युरिटी प्रिन्टर खरिद प्रक्रियामा ७० करोडकोल बार्गेनिङ गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि ८ गते राजीनामा दिएका मन्त्री गोकुल बाँस्कोटा लक्षित आक्रमण भएको बुझिएको छ । त्यसोत बाँस्कोटा लक्षित आक्रमण हुन सक्ने सूचना प्रहरीसँग पहिले नै पाएको थियो ।

     

    बाँस्कोटा प्रकरणलगत्तै प्रहरीको प्रति आतङ्कवाद हेर्ने विषेश ब्यूरोले सबै प्रहरी यूनिटलाई उनीविरुद्ध नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गर्न सक्ने लिखित सर्कुलर नै जारी गरेको स्रोतले बताएको छ ।

     

    यो एक वर्षको अवधिमा उक्त पार्टीका शीर्ष नेतादेखि कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले विप्लव पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वलीलाई पक्राउ गरेको थियो । मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्दबहादुर चन्द (विप्वलका दाजु), भरत बम, उमा भुजेल, बन्धु चन्द, वसन्त श्रेष्ठ, माइला लामा, नवीन विक, केशबहादुर बाँठा पक्राउ परेका छन् । उनीहरुसँगै करिब तीन दर्जन जिल्लाका इन्चार्ज समातिए ।

     

    यो अवधिका प्रहरी र विप्लव समूहबीच भएको दोहोरो भिडन्तमा १० जानले ज्यान गुमाए । जसमध्ये प्रहरीतर्फ १ विप्लवतर्फ ९ जना रहेका छन् । विप्लवतर्फ कुमार पौडेल, नीरकुमार राई, तीर्थ घिमिरे, गोकुल राना‘महान’ दीपेन्द्र, निरन्तर, प्रज्वल शाही, रामकुमार श्रेष्ठ, रामबहादुर सिंह रहेका छन् । त्यस्तै प्रहरीतर्फ प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको हो ।

     

    प्रहरी रेकर्डका अनुसनर १ हजार ४ सय ९१ जना पक्राउ परे भने १ हजार ४ सय १२ जनाविरुद्ध मुद्दा चलायो । एक हजार एक सय १४ जना अदालतबाट छुटे भने १ सय ३३ जना पुर्पक्षका लागि थुनामा रहेका छन् । साथै ८४ जना प्रहरीको अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

     

    त्यसोत विप्लव समूहका महासचिव नेत्र विक्रम चन्द भूमिगत छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएपनि पक्राउ गर्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस