• विदेश

    अफगानस्तिानमा दुई जना राष्ट्रपति

      ओमकार टाईम्स


    काबुल — अफगानस्तिानमा एकै दिन दुई जनाले राष्ट्रपतिको शपथ लिने तयारी गरेका छन् । वर्तमान राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले सोमबार राष्ट्रपतिको शपथ लिने भन्दै बेग्लाबेग्लै निमन्त्रणा जारी गरेका हुन् ।

     

    केही दिनअघि देशको निर्वाचन आयोगले गत वर्षको सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा घानी विजयी भएको घोषणा गरेपछि सोमबार बिहानका लागि उनको शपथग्रहण समारोह तय भएको थियो ।

     

    निर्वाचनमा धाँधली भएको भन्दै मतपरिणाम अस्वीकार गर्दै आएका अब्दुल्लाहले समानान्तर शपथग्रहण समारोहका लागि देशभित्र र बाहिरका उच्चपदस्थ व्यक्तित्वसहित कूटनीतिज्ञलाई निम्तो पठाएको उनका प्रवक्ताले शनिबार बताएका छन् । ‘हामीले सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंगठनलाई निमन्त्रणा पठाएका छौं र शपथग्रहणका लागि सबै तयारी पूरा भएको छ,’ अब्दुल्लाहका प्रवक्ता फ्राइदुन ख्वाजुनले भने, ‘काबुलमा सोमबार बिहान हुने घानीको शपथकै बेला अब्दुल्लाहको पनि शपथ हुनेछ ।’

     

    अब्दुल्लाह र उनको गठबन्धनले राष्ट्रपतीय चुनाव आफूहरूले जितेकाले सरकार बनाउने बताउँदै आएका छन् । राष्ट्रपति घानीका प्रवक्ता सेदिक सेद्दिकीले भने गत वर्षको चुनावको आधिकारिक विजेता आफूहरूको भएको जिकिर गरेका छन् । ‘चुनावको समय सकिसकेको छ र देशको संविधानअनुसार स्वतन्त्र निकाय निर्वाचन आयोगले घानीले राष्ट्रपतीय चुनाव जितको प्रमाणपत्र पनि जारी गरिसकेको छ,’ सेद्दिकीले बताए । पुराना राजनीतिक प्रतिद्वन्द्वी घानी र अब्दुल्लाहले अमेरिकी सक्रियतामा यसअघिको सरकारमा शक्ति बाँडफाँट गरेका थिए । यसअनुसार घानीले राष्ट्रपति र अब्दुल्लाहले विशेष रूपमा बनाइएको प्रमुख कार्यकारीको पद लिएका थिए । युद्धग्रस्त अफगानिस्तान लामो समयदेखि घानी र असरफबीचको राजनीतिक खिचातानीबीच गुज्रिरहेको छ । समानान्तर सरकारको चेतावनीले अमेरिकी सरकार र विद्रोही तालिवानबीच फेब्रुअरी २९ मा भएको शान्तिसम्झौतालाई नै जोखिममा पार्ने देखिएको छ ।

     

    कूटनीतिज्ञ र विज्ञहरूले अफगान राजनीतिक नेतृत्वबीचको खिचातानीले मंगलबारदेखि हुने भनिएको विद्रोही तालिवानसँगको बैठकलाई अप्ठेरामा पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘अफगान शान्ति प्रक्रियाका लागि यो खराब संकेत हो,’ अब्दुल्लाहको शपथग्रहण समारोहको तयारी भइरहेको भन्ने जानकारीसहितको निमन्त्रणा प्राप्त गरेका एक कूटनीतिज्ञले समाचार एजेन्सी रोयटर्ससँग बताए । सोमबारअघि नै दुई पक्षबीच सहमतिको बिन्दु खोज्न अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादले दुवैतर्फका व्यक्तिसँग कुराकानी गरिरहेको एक कूटनीतिज्ञले जानकारी गराएका छन् ।

     

    तालिवानले पश्चिमा राष्ट्रको ‘कठपुतली’ भन्दै अफगान सरकारसँग वार्ता गर्न असहमति व्यक्त गर्दै आइरहेको थियो । तर अमेरिकासँगको शान्ति सम्झौतामा वार्ताका लागि तालिवान तयार भएसँगै मंगलबार पहिलो चरणको छलफल हुने तय भएको हो । तालिवानसँगको वार्ताकै विषयमा पनि अफगानिस्तानमा विवाद जारी छ । राष्ट्रपति घानी आफैं वार्ताको नेतृत्व गर्न चाहन्छन् भने कार्यकारी अब्दुल्लाहको पनि त्यस्तै दाबी छ । दुई परम्परागत राजनीतिक प्रतिद्वन्दीको विवादले १८ वर्षे लामो गृहयुद्ध रोक्ने अपेक्षा गरिएको शान्तिसम्झौता तार्किक निष्कर्षमा नपुग्नेतर्फ सचेत गराउँदै काबुलस्थित विभिन्न देशका कूटनीतिज्ञले वार्ता र छलफलमार्फत समस्याको समाधान गर्न घानी र अब्दुल्लाहलाई आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस