• विदेश

    इटालीका कोरोना भाइरसका कारण थप १ सय ३३ जनाको मृत्यु, सेना प्रमुख पनि सङ्क्रमित

      ओमकार टाईम्स


    इटलीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ६६ पुगेको छ । आइतबारमात्र कोरोना भाइरसका कारण इटालीमा थप १ सय ३३ जनाको मृत्यु भएको हो ।

     

    संक्रमितहरुको संख्या २५ प्रतिशत बढेर ५ हजार ८ सय ८३ बाट ७ हजार ३ सय ७५ पुगेको छ।

     

    प्रकोप नियन्त्रणका लागि आइतवार दशौँ लाख मानिसहरूको निम्ति नयाँ प्रतिबन्धहरू लगाइएपछि पनि सो संख्या थपिएको छ।

     

    लोम्बर्डी र १४ वटा प्रान्तका एक करोड ६० लाख मानिसलाई नयाँ क्वारन्टीनअन्तर्गत यात्राको निम्ति विशेष अनुमति लिनुपर्ने बनाइएको छ। प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशभरिका विद्यालय, व्यायामशाला, सङ्ग्राहलय, रात्रि क्लब र अन्य स्थल बन्द गर्ने घोषणा पनि गरेका छन्। ती निर्णय एप्रिल ३ सम्म लागु हुनेछन्।

     

    पछिल्लो तथ्यांकसँगै गत डिसेम्बर महिनामा प्रकोप देखा परेको देश चीनबाहिर सबैभन्दा धेरै संक्रमित दक्षिण कोरियामा फेला परेका छन् । त्यसपछि इटालीमा संक्रमितको संख्या धेरै भएपनि करिब बराबरीको संख्यामा संक्रमित पुगेका छन् । दक्षिण कोरियामा ७ हजार ३ सय ८२ जना संक्रमित भेटिएका छन् ।

     

    इटलीमा पछिल्लो पटक संक्रमण पुष्टि भएकाहरूमा सेना प्रमुख सल्वाटोरे फरिना पनि छन्। उनले आफू एकान्तमा बसिरहेको र स्वस्थ महसुस गरिरहेको बताएका छन्।

     

    नयाँ क्वारन्टीनका कडा नियमले इटलीको एक चौथाइ जनसंख्या र देशको अर्थतन्त्रमा ठूलो योगदान दिने उत्तरी भागको केन्द्र पनि प्रभावित बनेका छन् ।

    प्रतिकृया दिनुहोस