नेकपाका सचिवालय सदस्य तथा पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार असफल भएमा मुलुकमा प्रतिगमन हुने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यो सरकार असफल भए कुनै न कुनै ढंगबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा उत्पन्न हुने बताए ।
सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्न पार्टी एकता भएको उल्लेख गर्दै उनले रणनैतिक समाजवादको आधार तयार गर्नु नै अहिले पार्टीको मुख्य कार्यभार भएको बताए ।
नेपालको कम्युनिस्ट आन्दोलनले नयाँ बाटोका साथमा अघि बढ्दै गएको उनको भनाई छ । उनले कतिपय पुँजीपति वर्गले र साम्राज्यवादी शक्तिहरु असफल बनाउन गिद्धेनजरले हेर्दै असफलता बनाउन लागि परिरहेकाले सजग हुन आवश्यक रहेको समेत बताए ।
पार्टी सचिवालय सदस्य समेत रहेका श्रेष्ठले अध्ययन नै क्रान्तिकारी पत्रकार हुने उल्लेख गर्दै उनले मुलुक रुपान्तरण गर्न कुनै पार्टी र गुटको नभई राम्रो पत्रकार हुनुपर्नेमा जोड दिए ।
राम्रो पत्रकार आवश्यक रहेको तर कुनै गुट पार्टीको पर्चाकार हुनु नहुने बताउँदै आलोचनात्मक चेत तथा तथ्य नभएमा पत्रकार हुनै नसक्ने समेत उनले दावी गरे ।
समाजवादको आधार तयार गर्न सरकारलाई सफल बनाउनु पर्ने बताउँदै प्रवक्ता श्रेष्ठले वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न पत्रकारहरुलाई आह्वान गरे ।
श्रेष्ठले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्कालै पार्टी र सरकारलाई तिव्र गतिका साथ अघि बढाउन सक्षम हुने विश्वास व्यक्त गरे ।
सूचना प्रविधिको विकाससँगै प्रेस जगतको थप आवश्यकता बढेको उल्लेख गर्दै समाजवादको आधार तयार पार्ने मेरुदण्डको रुपमा प्रेस रहेको उनको भनाई थियो ।
नेकपाका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्यले मानिसको इच्छाशक्ति तीव्र भएको खण्डमा कोरोना भाइरसले केही समस्या उत्पन्न हुन नसक्ने बताइन् ।
उनले हल्ला तथा भ्रमलाई चिर्दै यथार्थपरक जनतामा जानकारी बढाउन प्रेस संगठनले जवाफदेहिताका साथ अघि बढ्न आग्रह गरिन ।
संख्यात्मक रुपले मात्र बलियो भएर नहुने औल्याउँदै उनले गुणात्मक रुपमा विकास र विस्तार गर्नु अपरिहार्य रहेको बताइन । संगठनमा महिला पत्रकारको सहभागिता बढाउनुपर्ने बताउँदै उनले संगठन तथा पार्टीलाई समानुपातिक तथा विभेदमुक्त बनाउनुपर्ने बताइन ।
प्रतिकृया दिनुहोस