दार्जिलिङ — भुटान सरकारले दुइ साताको लागि पर्यटकलाई भुटान प्रवेशमा रोक लगाएको छ। भुटानमा एक अमेरिकी नागरिकलाई कोरोना भाइरस (कोविड-१९) संक्रमित भएको पुष्टि भएपछि भुटान सरकारले पर्यटकलाई प्रवेशमा रोक लगाएको हो ।
भारत-भुटान सिमा जयगाउँमा दुवैतिरबाट नागरिकहरूमा निगरानी चुस्त पारिएको छ। जयगाउँ ट्राभल्स वेलफेयर एसोसिएसनका अध्यक्ष सुरेश ठकुरीले पर्यटकमा रोक लागेकोले भारत र भुटानमा पर्यटन ठप्प भएको बताए।
भारत-भुटान सिमा जयगाउँ र फुन्सोलिङमा स्क्रिनिङ जारी छ। यता दार्जिलिङका जिल्ला शासक दीपाप प्रिया पी.ले नेपालसित जोडिएको सिमा पानीट्यांकी र बंगलादशसित जोडिएको सिमा फाँसीदेवामा निगरानी कडा गरिएको जानकारी दिए। ‘बाघडुगरा हवाई अड्डामा अहिलेसम्म १ सय ८२ जना विदेशी नागरिकको स्क्रिनिङ भइसकेको छ,’ जिल्ला प्रशासक प्रिया पी.ले भने, ‘सिक्किम र भुटानमा विदेशी पर्यटकलाई रोक लगाएको छ, तर भारत सरकारले यसप्रकारको कुनै आदेश जारी गरेको छैन्।
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले बंगालमा कोरोनालाई लिएर आतंकित हुनुपर्ने कुनै कारण नरहेको बताएकी छन्। बनर्जीले विभिन्न मन्त्रालयका अधिकारीहरूसित बैठक गरेकी छन्। उनले बंगालमा कोरोनालाई लिएर सरकारले सबै प्रकारका गतिविधिलाई चुस्त राखेको जानकारी दिइन।
दार्जिलिङ क्षेत्रीय प्रशासनका अध्यक्ष अनित थापाले दार्जिलिङ भित्रिएका विदेशी पर्यटकहरूमाथि निगरानी भइरहेको बताए। जिल्ला अस्पतालमा आइसोलेसन वार्ड तयार पारिएको उनले बताए।
दार्जिलिङ जिल्ला स्वास्थ्य अधिकारी प्रलय आचार्यले उत्तर बंगाल, नेपाल, भुटान, बंगलादश, चीनको सिमा क्षेत्र रहेकोले पनि अरूभन्दा धेर सतर्कता अपनाइनुपर्ने बताए। उनले उत्तरबंगाल मेडिकल कलेज एवं हस्पिटल र दार्जिलिङ जिल्ला अस्पतालमा कोरोना भाइरस संक्रमितको लागि उपचारका सबै प्रविधिलाई चुस्त राखिएको जानकारी दिए।
प्रतिकृया दिनुहोस