• देश

    धनगढीका सबै विद्यालय २५ फागुनदेखि बन्द गर्न उपमहानगरको निर्देशन

      ओमकार टाईम्स


    कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सरकारले चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको बेला कैलालीको धनगढी उपमहानगरपालिकाले त्योभन्दा अगावै विद्यालय बन्द गर्न निर्देशन जारी गरेको छ ।

     

    धनगढी उपमहानगरपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नगरक्षेत्रका सबै माध्यमिक तहसम्मका शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको हो ।

     

    उपमहानगरपालिकाको निर्णय अनुसार आइतबारदेखि लागू हुने गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूलगायत सम्पूर्ण शिक्षण संस्थाहरूमा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलापहरू अर्को सूचना नभएसम्म मिति २०७६÷११÷२५ देखि लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र आमनगरवासीमा जानकारी गराइन्छ ।’

     

    सरकारले कोरोना भाइरस संक्रमणको त्रासका कारण विद्यालयहरूलाई छिटो परीक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो तर धनगढी उपमहानगरले भने आइतवारदेखि नै अनिश्चितकालका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

     

    कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई कोरोना संक्रमण छिटो हुन सक्ने भएकाले छिटो परीक्षा सम्पन्न गराउन मन्त्रालयलाई निर्देशन दिएको थियो ।

     

    सरकारको निर्देशनअनुसार सरकारी तथा निजी विद्यालयले २८ फागुनदेखि नै वार्षिक परीक्षा सञ्चालन गर्नुपर्ने थियो । तर धनगढीमा भने अब वार्षिक परीक्षा अनिश्चित हुने भएको छ ।

     

    प्रतिकृया दिनुहोस