• देश

    शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएका एक सय शव, व्यवस्थापनमा समस्या

      ओमकार टाईम्स


    काठमाडाैं : महाराजगंञ्जस्थित शिक्षण अस्पतालमा डा. तुलसी कँडेल दैनिक ५ देखि ६ शवको पोष्टमार्टम गर्छन् । पोस्टमार्टमका लागि अस्पतालसम्म पुर्याइने कतिपय शवको पहिचान भएको हुँदैन । डा. तुलसी भन्छन्, ‘पहिचान भएका शव आफन्तले लैजान्छन् । तर, पहिचान नभएका शव भने अस्पतालमै राख्नुपर्ने हुन्छ ।’

     

    पहिचान नभएका शव अस्पतालमा राख्न भने सजिलो छैन । सीमित साधन–स्रोतका कारण लामो समय शव सुरक्षित राख्न कठिन भएको डा. कँडेलको भनाइ छ ।

     

    पहिचान नभएका र राजनीतिक कारणले आफन्त नबुझेका शव अस्पतालमै राख्ने गरिएको छ । शिक्षण अस्पतालमा अहिले पहिचान नभएका तथा राजनीतिक कारणले आफन्तले उठाउन नमानेका १ सय वटा शव छन् ।

     

    अप्ठेरोमा अस्पताल

    शव सुरक्षित राख्ने स्थान अभावका कारण अस्पताललाई अप्ठेरो परेको छ । २०७२ सालको भूकम्प अगाडि त अझ अस्पतालसँग १२ वटा भन्दा बढी शव सुरक्षित राख्ने स्थान नै थिएन । त्यो भूकम्पपछि भने रेडक्रसले सहयोग ग-यो, जसका कारण अस्पतालले ‘कोल्ड स्टोरेज’ अर्थात् शव सुरक्षित राख्ने ठाउँ पाएको छ ।

     

    मानव पहुँचभन्दा टाढा भेटिएका शव प्रहरीले फेला पार्ने बेलासम्म कुहिन सुरु भइसकेका हुन्छन् । ‘त्यस्ता शव पहिचान गर्न समेत गाह्रो हुन्छ’ उनी भन्छन्, ‘शरीरको कुनै भाग कुहिन सुरु गरिसकेको छ भने त्यस्तो शव लामो समयसम्म राख्न सकिंदैन ।’

     

    सबै शव सुरक्षित तरिकाले राख्न नसकिने भएपछि अस्पताल र प्रहरी प्रशासनले कपडा तथा डिएनए संकलन गरेर राख्ने अभ्यास सुरु गरेका छन् ।

     

    नेपाल प्रहरीका प्रवक्ता डिआईजी शैलेश थापा क्षेत्री भन्छन्, ‘लामो समयसम्म शव पहिचान नभएपछि कपडा वा डिएनए सुरक्षित राख्ने गर्छौं ।’

     

    शवको पहिचान लामो समयसम्म हुन नसके प्रहरीले नै स्थानीय तहको समन्वयमा सद्गत गर्नुपर्ने व्यवस्था छ । तर, प्रहरीले शव सद्गत गर्न नसकेको डा. कँडेल बताउँछन् ।

    पहिचान नभएकै कारण भूकम्पमा निधन भएका ३२ जनाको शव अझै अस्पतालमा सुरक्षित राखिएको छ ।

     

    एउटा शवलाई सुरक्षित राख्न कम्तिमा पनि माइनस ५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । यसरी दर्जनौँ शव सुरक्षित राख्नुपर्दा अस्पताललाई आर्थिक भार थपिएको छ ।

     

    यही कारण पछिल्लो समय अस्पतालले पहिचान नभएको शवमा प्रष्ट देखिने चोट छैन भने केही समय सुरक्षित राख्छ । त्यसपछि पनि उनीहरुको पहिचान खुल्न नसके प्रहरी–प्रशासनसँग समन्वय गरेर आफ्नै अस्पतालमा अध्ययनका लागि हस्तान्तरण गरिदिने गरेको छ ।

     

    हड्डी राख्न सजिलो  

    नेपालमा पहिचान नभएका व्यक्तिको पुरै शव नै राख्ने चलन छ । डा. कँडेलको भनाईमा, विदेशमा भने पहिचान नभएको व्यक्तिको शवबाट हाड र मृत्युका बेला उसको शरीरमा रहेको कपडा मात्रै राख्ने गरिन्छ । ‘हाड र कपडामात्र राख्दा खर्च पनि कम लाग्छ र थोरै स्थानमा व्यवस्थापन गरेर राख्न सकिन्छ’, उनी भन्छन्, ‘हामी पनि शव पोस्टमार्टम गरिसकेपछि शरीरको कुनै हाड र कपडा सुरक्षित राख्नेतिर जाने हो भने खर्च घटाउन सक्छौँ ।’

     

    पहिचान नभएका शव कति समयसम्म राख्नुपर्ने हो, यस सम्बन्धी कानुनी व्यवस्था छैन । यही कारण प्रहरी र अस्पताल दुवैलाई अप्ठेरो भएको छ । ‘शव पहिचान नभएको अवस्थामा कति वर्षसम्म राख्ने भन्ने व्यवस्था छैन’ उनी भन्छन्, ‘त्यसैले, लामो समय राख्नुपर्दा खर्च पनि बढी नै लाग्ने गरेको छ ।’

     

    अस्पतालले एउटा शव सुरक्षित राखे वापत प्रतिदिन १ हजार रुपैयाँ तिर्नुपर्ने नियम बनाएको छ । तर, वेवारिसे शवको पैसा कसले दिने ?

     

    विशेष कारणले आफन्त आउन ढिला भए शव सुरक्षित राखिदिए वापत कतिपयले अस्पताललाई शुल्क तिर्छन् । तर, अधिकांशले तिर्न सक्दैनन् । राजनीतिक कारणले राखिएका शवको शुल्क उठाउन झन् कठिन छ ।

     

    जस्तो, छोराको हत्यारा पत्ता लगाइपाऊँ’ भन्दै अनशन बसेका गोर्खाका नन्दप्रसाद अधिकारीको २०७१ असोजमा मृत्यु भयो । त्यस्तै अन्तरजातिय विवाह गरेका काभ्रेका अजित मिजारको २०७३ मा हत्या भएको थियो ।

     

    अधिकारी र मिजारका आफन्तले अझै शव उठाएका छैनन् । उनीहरुका परिवारले न त्यहाँ शव राखेको शुल्क दिन सक्छन्, न त अस्पताले नै जोर–जवर्जस्ती गरेर शुल्क उठाउन सक्छ ।   नयाँ पत्रिकामा खबर छ ।

    प्रतिकृया दिनुहोस