• सम–सामयिक

    शिक्षक सहित ६ जना बिर्तामोडबाट लागू औषध सहित पक्राउ

      ओमकार टाईम्स


    प्रहरीले लागू औषध नियन्त्रण विरुद्ध विभिन्न सचेतना मूलक कार्यक्रम सञ्चालन गरिरहेपनि लागू औषध प्रहरीका लागि चुनौति बनेको छ ।

     

    प्रहरीले लागू औषध नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न विद्यालयहरुमा लागू औषध विरुद्ध सचेतना मूलक कार्यक्रम सञ्चालन गरेपनि शिक्षक नै लागू औषध कारोवारीमा सम्लग्न भएको तथ्य खुलेसंगै लागू औषध प्रहरीका लागि चुनौति बनेको हो ।

     

    इलाका प्रहरी कार्यालय अनारमनीले विशेष सूचनाका आधारमा वुधवार अर्जुनधारा नगरपालिका – ११स्थित नयाँ बसपार्कमा रहेको मेची माउण्ट होटलबाट ३५ ग्राम ब्राउनसुगर सहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये एक जना शिक्षक रहेको खुलेको छ । प्रहरीले विद्यालयको नाम गोप्य राखेको छ ।

     

    पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका – ४ का २४ वर्षीय सञ्जु चेम्जोङ्ग, सोही ठाउँका २० वर्षीय समिर लिम्बू, २५ वर्षीय विवेक तामाङ्ग, अर्जुनधारा ६ का १९ वर्षीय रोशन गुरुङ, इलामको देउमाई नगरपालिका – २ का २० वर्षीय सन्तोष तामाङ्ग र पाँचथरको फिदिम नगरपालिका १३ का १८ वर्षीय दिपेन लिम्बू रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

     

    होटलमा वसेर लागू औषधको कारोवार भइरहेको सूचना पाएलगत्तै होटल पुगेको प्रहरीले उनीहरुको साथबाट नगद ५५ हजार रुपैयाँ सहित ६ थान मोवाइल समेत बरामद गरेको छ ।

     

    श्रोतका अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षक प्रेमीकालाई भेटेपछि लागू औषध कारोवारीसंग लागू औषध खरिद गर्दै गरेको अवस्थामा प्रहरीले लागू औषध सहित पक्राउ गरेको हो ।

     

    पक्राउ परेका ६ जनालाई नै इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक रिजालले बताए । उनका अनुसार पक्राउ परेकाहरुलाई लागू औषध ऐन अन्तरगत १० वर्षसम्म कैद सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।

     

    प्रहरीले लागू औषध नियन्त्रण विरुद्ध अभियान सञ्चालन गरिरहेपनि पछिल्लो समय लागू औषध नियन्त्रण चुनौतिपूर्ण बनेको प्रहरी नायव उपरीक्षक रिजालले बताए । उनका अनुसार १६ देखि ३० वर्ष उमेर समूहका युवा पुस्ता लागू औषधको दलदलमा फसेका छन् ।

     

    प्रहरीले विद्यार्थीलाई लक्षित गरेर लागू औषध नियन्त्रण विरुद्ध कार्यक्रम सञ्चालन गरिरहेपनि शिक्षित समूह नै लागू औषध कारोवार तथा सेवनमा फस्ने गरेको पाइएको छ ।

     

    अभिभावकको निगरानी नहुनु , साथी संगतका कारण युवा पुस्ता लागू औषधको लतमा फस्ने गरेको प्रहरी उपरीक्षक रिजालले बताए । बिर्तामोडमा इलाम, पाँचथर, ताप्लेजुङ्ग , मोरङ, तेह्रथुम सहित पूर्वी पहाडी जिल्लाबाट अध्ययन सहित अन्य विभिन्न पेशा व्यवसायमा सम्लग्न व्यक्ति बस्ने गरेको र उनीहरुलाई अभिभावकको प्रत्यक्ष निगरानी नहुँदा लागू औषधको लतमा फस्ने गरेको प्रहरीले जनाएको छ ।

     

    साथी संगतका कारण लागू औषध कारोवारी तथा सेवन कर्ता बढेकाले अपराधका घटनामा समेत वृद्ध भएको पाइएको छ । यो संगै अपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले पछिल्लो समय लागू औषध नियन्त्रणमा विशेष पहल गरिरहेको छ ।

     

    खुल्ला सिमानाका कारण लागू औषध सहज रुपमा उपलब्ध हुने भएकाले यसका कारोवारी तथा प्रहयोकर्ताहरु बढेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ ।

     

    इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार गत जेठ महिनादेखि हालसम्म लागू औषध कारोावारीमा सम्लग्न ५६ जना पक्राउ परेका छन् । ब्राउनसुगर, गाँजा, विभिन्न ट्याब्लेट, लगायतका लागू औषधजन्य पदार्थ प्रहरीले बरामत गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस