• देश

    ‘स्कुल खोल्ने/नखोल्ने सरकारले स्पष्ट निर्णय लिनुपर्‍यो’- विद्यालय सञ्चालक

      ओमकार टाईम्स


    काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबारे सरकारले स्पष्ट निर्णय लिनुपर्ने विद्यालय सञ्चालक तथा सरोकार पक्षले माग राखेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको छलफलमा उक्त विचार राखेका हुन् ।

     

    बिहीबार दिउँसो कोरोना भाइरसबाट उपप्रधानमन्त्रीको अध्यक्षताका गठित समिति र मुख्यसचिवको संयोकत्वमा गठित समितिको संयुक्त बैठक बस्ने जनाइएको छ।

     

    त्यसअघि मन्त्रालयले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), नेसनल प्याब्सन, राष्ट्रिय अभिभावक महासंघ, शिक्षक महासंघलगायतका प्रतिनिधि बोलाएर छलफल गरेको हो। त्यसैगरी छलफलमा मन्त्रालय मातहत राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विकास तथा मानव स्रोत केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)लगायतका अधिकारीको सहभागिता थियो।

     

    ‘नेपालमा कोरोना भाइरसको स्थिति संवेदनशील अवस्था हो भने परीक्षा नकुरौं, निश्चित समयका निम्ति विद्यालय विद्यालय बन्द गरौं,’ छलफलमा सहभागी नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले भने, ‘संवदेनशील परिस्थिातिमा परीक्षा गौण विषय हो। परीक्षाको मर्यादा हुन्छ। हतरपतर लतरपतर जथाभावी परीक्षा लिनुभन्दा बिदा गरौं। हतारमा भएको निर्णयले विद्यार्थीलाई परीक्षाको त्रास पैदा गरेको छ। स्थिति सामान्य बनेपछि परीक्षा लिनु बेस हुनेछ।’ विद्यालय बन्द गर्ने तर विद्यार्थी सिनेमा हल या सार्वजनिक स्थलहरूमा जान दिने हो भने अर्थहीन हुने सापकोटाले बताए।

     

    मन्त्रालयले दुई दिनअघि चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिइसक्नुपर्ने निर्देशन जारी गरेको छ। पूर्वनिर्धारित तालिकाअनुसार चैत ६ गतेबाट १५ गतेसम्म एसईई परीक्षा सुचारु हुनेछ।

     

    कक्षा ५ र ८ को जिल्लास्तरीय परीक्षा सञ्चालन जिम्मेवारी स्थानीय सरकार मातहत रहेको छ। उक्त जिल्लास्तरीय परीक्षालाई केन्द्र नतोकी सम्बन्धित विद्यालयमै जाँच लिनुपर्ने निर्देशन छ। साथै, कुनै भेला, गोष्ठीलगायत कार्यक्रम नगर्न भनेको छ।

     

    अधिकांश विद्यालयले आफ्नोअनुकुल चैत १६ गतेपछि परीक्षा लिने तालिका बनाएका छन्। आकस्मिक रुपमा चैत ५ गतेभित्र जाँच लिनु पर्ने भएपछि ‘परीक्षाको मर्यादा’ मिचिने भएकाले सरकार स्पष्ट हुनुपर्ने विद्यालय सञ्चालकले जिकिर गरेका छन्।

     

    मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले परीक्षा लिनेबारे दिइएको निर्देशन र थप विषयमा छलफलका निम्ति सरोकार पक्षलाई बैठक बोलाएको बताए। ‘कोरोना भाइरसको संक्रमण आएमा भयावहस्थिति बन्न दिनु भएन,’ मन्त्रालय पर्ख र हेरको स्थितिमा रहेको उल्लेख गर्दै काप्रीले भने, ‘प्रकोप नभई अगाडि नै विद्यालय बन्द गर्नु भएन। शैक्षिक सत्रको पढाइ सकिएको छ। सम्भावित संक्रमणलाई मध्यनजर गरेर छलफल भएको छ। सरकारको निर्णयअनुसार थप कुरो अघि बढ्नेछ।’
    कान्तिपुर

    प्रतिकृया दिनुहोस