• देश

    कूटनीतिक नियोगका पूर्वनिर्धारित कार्यक्रम रद्द

      ओमकार टाईम्स


    कोरोना भाइरसको उच्च जोखिमसँगै कूटनीतिक नियोगहरूले पूर्वनिर्धारित कार्यक्रम रद्द गर्न थालेका छन्।

     

    सरकारले गत आइतबार सभा, सम्मेलनलगायतका कुनै कार्यक्रम नगर्न आग्रह गरेपछि नेपालस्थित कूटनीतिक नियोगहरूले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन्।

     

    अमेरिकी दूतावासले २४४ औं स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रम र कतारले चन्द्रगिरिमा आइतबार गर्ने भनिएको फुड फेस्टिबल रद्द गरिएको छ।

     

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका कूटनीतिज्ञलाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नहुन यसअघि नै आग्रह गरिसकेका छन् ।

     

    विश्व स्वास्थ्य संगठनले चीनको छिमेकी मुलुक भएकाले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ।

     

    यस्तै उपत्यकाका तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने गरी कार्यक्रम नगर्न सार्वजनिक आग्रह गरेको छ। कोरोना भाइरसको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो।

     

    ‘कोरोना भाइरसको संक्रमणको जोखिम रहेकाले बढी भीडभाड हुने गरी कार्यक्रम नगर्न भनेका छौं’, ललितपुरका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले भने, ‘कार्यक्रम गरेमा कारबाही गर्ने नै होइन। तर, अहिलेको समयमा कार्यक्रम नगर्दा बेस हुने भन्दै आएका छौं।’

     

    सार्वजनिक सभा, समारोहको आयोजनाका लागि सोेध्न सबैैलाई यस्तै आग्रह गर्दै आएको पनि अधिकारी पाण्डेले बताए ।

     

    ललितपुरमा विशेषतः अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा तय गरिएका थुप्रै कार्यक्रम स्थगित गरिएको जानकारी प्राप्त भएको उनले बताए ।

     

    महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११०औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका सम्बन्धमा तय भएको औपचारिक कार्यक्रम रद्ध गरेको छ।

     

    कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै आगामी मार्च ८ का दिन (र्यालीसहितको साझा अभियान कार्यक्रम) र ११० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस हाललाई स्थगन गरिएको मन्त्रालयले जनाएको छ।

     

    यसैगरी, कार्यालयले फागुपूर्णिमा (होली) का अवसरमा कार्यक्रम तथा भीडभाड नगर्न आग्रह गरेको छ। होलीका अवसरमा कार्यक्रम गर्ने वा भीड हुने कार्य गर्न रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । नेपाल समाचारपत्र

    प्रतिकृया दिनुहोस