• सम–सामयिक

    पत्रकार डेकेन्द्र हत्याका मुख्य आरोपित १६ वर्षपछि पुर्पक्षका लागि कारागार चलान

      ओमकार टाईम्स


    दैलेख : पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपित ४ जनामध्ये एक जनालाई कारागार चनाल गरिएको छ ।

     

    हिजो (मंगलबार) दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका अरुण भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

     

    २०६१ साउन २७ गते नौमुलेको द्वारीमा तत्कालिन माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेपछि सास छँदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेका थिए ।

     

    जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते फरार भनिएका खड्कासहित ४ जनालाई ‘हाजिर भएका वा पक्रिएका बखत वा अवधि पुगेपछि जगाई कारबाही र किनारा गर्ने’ आदेश गरेसँगै फरार उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

     

    जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यका अनुुसार प्रहरीले तत्कालीन माओवादी कार्यकर्ता खड्कालाई जिल्ला अदालतमा उपस्थित गराएपछि मुल्तवीमा रहेको कर्तव्य ज्यान मुद्दा जगाई मंगलबार नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जानकारी दिएका छन् ।

     

    हत्या आरोपित खड्कालाई कैलालीबाट पक्राउ गरी अड्डा गर्दै दैलेख ल्याइएको जिल्ला प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले बताए ।

    प्रतिकृया दिनुहोस