विराटनगर : विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा ट्रिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको ट्रिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुुराम सरदार र उनका छ वर्षीया नातिनी आरोही सरदार रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले बताए । दुर्घटना गर्ने ट्रिपर चालक जिल्ला सुनसरी रामधुनी नगरपालिका ५ बस्ने वर्ष ३३ को हरेराम चौधरीलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनापछि आक्रोशित स्थानीयवासीले ट्रिपरमा आगजनी गरेका छन् । घटनालगत्तै मृतकको शव सडकमा तेस्र्याएर स्थानीय र आफन्तले विराटनगर–विराटचौक सडक खण्डमा नाराबाजी र प्रदर्शन गरेका थिए भने प्रहरीलाई शव समेत उठाउन दिइएन ।
प्रहरी, जनप्रतिनिधि, स्थानीय र आफन्तबीच भएको वार्तापछि ठक्कर दिने ट्रिपर चालकलाई कारबाही गर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति बनेको थियो । सहमतिपछि स्थानीय र आफन्त शव उठाउन दिन राजी भएका थिए ।
दुवैको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।
आक्रोशित स्थानीयले भने आज (बुधबार) पनि सवारी साधन सञ्चालनमा रोक लगाउँदै झोराहाट र मिलनचौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
रुखहरु काटेर सडकमा तेस्र्याउँदै स्थानीय प्रदर्शनमा उत्रिएपछि उक्त सडक खण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ ।
यसैगरी थप अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सूचना अधिकारी एवं प्रवक्ता मान बहादुर राईले जानकारी दिए ।
सडकमा ट्रिपरको आतंक र ज्यादती बन्द गर्नु पर्ने माग गर्दै स्थानीय र मृतकका आफन्तले आन्दोलनलाई जारी राखेको स्थानीयवासीले बताए ।
प्रतिकृया दिनुहोस