• देश

    सरकारलाई ५ देशको उडान रोक्न सर्वोच्चको आदेश

      ओमकार टाईम्स


    काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई ५ देशको उडान रोक्न अन्तरिम आदेश दिएको छ । कोरोनाभाइरस संक्रमण र जोखिम देखिएका चीन, जापान, दक्षिण कोरिया, बहरान र इरानकका सीधा र ट्रान्जिट फ्लाइटका उडान रोक्न हिजो (सोमबार) अन्तरिम आदेश दिएको हो ।

     

    संक्रमण फैलिएका मुलुकबाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उडानको अवस्था र परिस्थितिको सूक्ष्म मूल्यांकन गर्नसमेत सजग गराइएको छ । ती देशका नागरिकलाई स्वास्थ्य परीक्षणबिना प्रवेशमा रोक लगाउन तथा शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्काल ‘आइसोलेसन’ र ‘क्वारेन्टाइन’ मा राखी छुट्टै उपचारको व्यवस्था मिलाउनसमेत सर्वोच्चले आदेश दिएको छ ।

     

    सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि गम्भीर नभएको भन्दै आइतबार सवोच्च अदालतमा अधिवक्ता पूर्ण राजवंशीले रिट दायर गरेका थिए । सर्वोच्चले उत्तर र अन्य सीमाबाट नेपालमा प्रवेश गरिने स्थलमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यक्तिहरू प्रवेश गर्ने नागरिक (विदेशी समेत) को अनिवार्य रूपमा कडाइका साथ स्वास्थ्य जाँचको प्रभावकारी व्यवस्था गर्न पनि सरकारलाई आदेश दिएको छ ।

     

    हिजो न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयका नाममा आदेश दिएको छ ।

     

    ‘कोरोनाभाइरसको गम्भीर संक्रमण फैलिएका देश (चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरान) बाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानको अवस्था र परिस्थितिको गम्भीरताको सूक्ष्म मूल्यांकन गरी आमजनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने ।’ अन्तरिम आदेशमा उल्लेख छ ।

     

    आदेशमा नेपालमा पनि संक्रमणको प्रवेशको सम्भावनालाई कुनै पनि अवस्थामा नजरअन्दाज गर्न नहुने उल्लेख छ । सम्भावित जोखिमलाई विचार गर्दै दैनिक उपभोग्य सामानको व्यवस्थापनमा समेत पूर्वतयारी गर्न सवोच्चले भनेको छ ।

     

    यसैगरी कोरोनाभाइरस फैलिन नदिन सरकारलाई सूचना प्रवाहको व्यवस्था मिलाउनसमेत सर्वोच्चले भनेको छ ।

    प्रतिकृया दिनुहोस