रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधि नै तस्करीमा संलग्न रहेको पाइएको छ । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका– १ को वडा सदस्यमा निर्वाचित मो. सदिर मियाँ तस्करीमा संलग्न रहेको पाइएको हो ।
आइतबार अपराहन्न ३ बजे रतुवामाई नगरपालिका– १०, टाली भट्टास्थित घुम्तीनजिकै ट्रयाक्टर दुर्घटना भएपछि सीमावर्ती भारतीय बजारबाट अवैध रूपमा आयात गरिएको चिनी फेला परेकाले जनप्रतिनिधि नै तस्करीमा संलग्न हुँदै आएको खुलासा भएको हो ।
यसरी भयो खुलासा
आइतबार अपराहन्न ३ बजे सोनापुरबाट उर्लाबारीतर्फ जाँदै गरेको मे१त ८७१६ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आउँदै गरेको बा२९प ६८४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते भएपछि अत्तालिएका ट्रयाक्टर चालक चलिरहेको ट्रयाक्टरबाट हाम फालेर फरार भएपछि दक्षिणतर्फ ढुंगा बोकेर आउँदै गरेको अर्को मे१त ६४६६४ नम्बरको ट्रयाक्टरसमेत अनियन्त्रित भएर मोटरसाइकललाई पुनः ठक्कर दिएको थियो ।
ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार रतुवामाई नगरपालिका– ६ का प्रकाश र खगेन्द्र भेटवाल घाइते भएका थिए । घाइते दुवै जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । दुर्घटनापश्चात् घटनास्थलमा पुगेको प्रहरीले चेकजाँच गर्दा मे१त ८७१६ नम्बरको ट्रयाक्टरको डालामा धानको बोराले छोपेर भारतबाट अवैध रूपमा ल्याइँदै गरेको २५ क्विन्टल चिनी बरामद गरी नियन्त्रणमा लिएपछि वडा सदस्य मियाँ तस्करीमा संलग्न भएको खुलेको हो ।
घटनास्थलमा बरामद गरिएको चिनी धानको बोराजस्तै देखिने गरी जुटको बोराभित्र राखेर उर्लाबारीतर्फ लगिँदै गरेकाले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीले जानकारी दिए । ट्रयाक्टरबाट १ सय ७ धानका बोरासहित बरामद गरेको ५० बोरा चिनी सोमबार बिहान प्रहरीले सार्वजनिक गरेको छ । तस्करीमा ट्रयाक्टर, चिनी र धान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउने इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक रायमाझीले बताए ।
स्थानीयका अनुसार सीमाक्षेत्रका व्यापारीसमेत रहेका वडा सदस्य मियाँकै ट्रयाक्टर चिनी तस्करीमा प्रयोग भएको हो । प्रहरीलाई झुक्याएर वडा सदस्य मियाँले भारतबाट विभिन्न वस्तु अवैध रूपमा नियमित नेपाल भित्र्याएर उर्लाबारी, पथरी, इटहरी, धरानलगायत पूर्वका विभिन्न स्थानमा पु¥याउँदै आएका छन् । वडा सदस्य मियाँको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएलगत्तै उनी फरार रहेको पाइएको छ ।
प्रतिकृया दिनुहोस