• देश

    मिर्गौला प्रत्यारोपणको लागि प्रधानमन्त्री ओली आज अस्पताल भर्ना :प्रत्यारोपणबारे अस्पतालका कार्यकारी निर्देशक बेखबर

      ओमकार टाईम्स


    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ ।

     

    पर्सि बुधबार मिर्गौलाको प्रत्यारोपण गर्नका लागि प्रधानमन्त्री ओली आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुँदै हुनुहुन्छ ।

     

    यसअघि प्रधानमन्त्री ओलीको १३ वर्षअघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसबेला उहाँलाई बुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दिनु भएको थियो । अहिले प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्नेले मिर्गौला दिने भनिए पनि नाम खुलाइएको छैन ।

     

    प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणका लागि देशकैै सरकारी अस्पताल रोज्नुभएको छ । पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उहाँ नियमित डायलासिस गराउँदै आउनुभएको छ ।

     

    प्रत्यारोपणबारे अस्पतालका कार्यकारी निर्देशक बेखबर

     

    प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बुधबार अर्थात फागुन ७ गते हुने भनिएको मृगौला प्रत्यारोपणबारे त्रिवि शिक्षण अस्पतालकै कार्यकारी निर्देशक नै बेखबर रहेका छन् ।

     

    हिजो (आइतबार) सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रधानमन्त्री कार्यालयले यस विषयमा औपचारिक जानकारी दिइसकेको छ भने शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोली समेत तयारी अवस्थामा रहेका छन् । तर, त्रिवि शिक्षण अस्पतालकै कार्यकारी निर्देशक नै यसबारे बेखबर हुन आश्चर्यको विषय बनेको छ ।

     

    त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गर्ने बारे हालसम्म आफूलाई कसैले लिखित तथा मौखिक कुनै खालको जानकारी नदिएको बताए ।

     

    उनले पत्रपत्रिका तथा अनलाइनहरुमा आएका प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणसम्बन्धी समाचार पढेपछि मात्र आफूलाई यसबारे थाहा पाएको बताए ।

     

    ‘यसबारे मलाई कतैबाट औपचारिक जानकारी आएको छैन । मिडियाबाट खबर थाहा पाएँ’, उनले भने–‘के कसरी प्रत्यारोपण गरिने तयारी रहेछ भनेर चिकित्सकहरुसँग आकस्मिक बैठक राख्ने की भनेर सोचिरहेका छु ।’

     

    मृगौला त्रिवि शिक्षण अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने गरी तयारी गरिएको छ । नेफ्रोलोजी विभाग प्रमुखमा डा. दिव्यासिंह शाह छन् । उनको टिममा डा. महेश सिग्देल, डा.मुकुन्द काफ्लेलगायत छन् । युरोलोजीमा प्रा.डा. उत्तम शर्मा, डा. ज्ञवाली, भोजराज लुइँटेल, डा. पवन चालिसे कार्यरत छन् ।

     

    त्यसोत प्रधानमन्त्री ओली आजै शिक्षण अस्पताल भर्ना हुँदै छन् भने यसबारे अस्पतालका निर्देशकलाई नै कुनै जानकारी नदिनुको रहस्य के हो ? भन्ने बारे खुलेको छैन ।

     

    यता अंग प्रत्यारोपणका लागि प्रत्यारोपण स्वीकृत समितिले सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणका लागि स्वीकृति समितिको बैठक बसेको छैन ।

     

    प्रत्यारोपण स्वीकृत समितिमा चिकित्सक, अस्पताल प्रशासन, जिल्ला प्रशासन, कानुनविद्सहितको पाँच सदस्य हुन्छन् । समितिले प्रत्यारोपण गर्ने व्यक्ति र उनलाई अंग दिने व्यक्तिबीचको नाता हेर्ने गर्छ । नाता प्रमाणित स्थानीय निकायले गर्छन् ।

     

    उक्त सिफारिसअनुसार नाता भएको स्थानीय तहले ठहर गरेपछि मात्रै प्रत्यारोपण गर्न पाइन्छ  ।

     

    समितिका संयोजक डा. ईश्वर लोहनीका अनुसार प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गर्ने विषयमा समितिको बैठक बसेको छैन । तर, सबै प्रक्रिया पूरा गरेर आए निर्णय गर्न लामो समय नलाग्ने बताए ।

     

    अंग प्रत्यारोपणमा परिवारका सदस्यमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू, ससुरा पर्छन् ।

     

    त्यस्तै, सौतेनी बाबु, सौतेनी आमा, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबुबा, सानीआमा, भतिजा, भतिजी, जेठाजु, जेठानी, देवर, देउरानी, नन्द, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठानले अंगदान दिन सक्ने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस