नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका पूर्वउपप्रधानमन्त्री भीम रावललाई धनगढी विमानस्थलको भीआईपी कक्षमा रोक लगाइएको छ ।
शनिबार बिहान काठमाडौंबाट श्री एयरलायन्सको विमानमा ९ः१५ मा धनगढी पुगेका रावलले पत्रकार सम्मेलनको आयोजना गरेर रोक लगाइएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।
नेता रावलले आफूले विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न नपाएकोमा गुनासो नभए पनि आफूलाई सुरक्षा व्यवस्थाबारे जानकारी नदिएकोमा आक्रोश व्यक्त गरे ।
उनले विशिष्ट कक्ष प्रयोग गर्न नपाएपछि ट्रली बोक्ने बाटोहुँदै विमानस्थलबाट बाहिर निस्कनुपरेको गुनासो गरे । उनले पत्रकार सम्मेलनमा पटक–पटक आफूमाथि त्यस्तो व्यवहार किन गरिएको भन्ने जिज्ञासा राखे ।
शनिबार धनगढीबाट राष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौं फर्कने कार्य सूची रहेको थियो । राष्ट्रपति काठमाडौं फर्कनका लागि विमानस्थल जाँदै थिइन् । सोही कारण विशिष्ट कक्षमा सुरक्षा व्यवस्था कडाइ गरिएको थियो ।
तर, निर्धारित कार्यक्रमअनुसार आफू धनगढी आउने पार्टीका नेता कार्यकर्तालाई जानकारी भए पनि आफूलाई पार्टीले राष्ट्रपतिको कुनै कार्यक्रमबारे जानकारी नगराएको बताउँदै नेता रावलले विशिष्ट कक्षमा को–को, कस्ताकस्ता व्यक्ति जान पाउँछन ? भन्ने सूची बनाइयो र त्यसमा हाम्रो पद परेन भने सर्वप्रथम त्यो कार्यान्वयन गर्न आफू तयार रहेको बताए ।
त्यस्तै, पत्रकारले सोधेको एक अर्को प्रसंगमा बोल्दै इन्चार्ज रावलले एमसीसीमा जनताको चासो बढेकोमा खुसी व्यक्त गरे । उनले एमसीसीबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रूप दिन पार्टीले कार्यदल गठन गरेको बताउँदै पार्टीको आधिकारिक धारणा नआएकाले यस विषयमा आफू धेरै नबोल्ने बताए ।
उनले राष्ट्रियसभा सदस्यबारे पार्टी केन्द्रीय कमिटी बैठकले गरेको निर्णय सबैले मान्नुपर्ने बताए । त्यस्तै, नेता रावलले पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वाभाविक भएको बताउँदै अहिलेको यही विषयले पार्टी फुट्छ भन्नु तर्कसंगत नहुने बताए ।
प्रतिकृया दिनुहोस