धनुषामा डीजे बाजा बजाउन रोक लगाइएको छ । अत्यधिक आवाजले बजाइने डीजे बाजाका कारण ध्वनि प्रदूषणका साथै शान्ति सुरक्षामा खलल पुगेको भन्दै प्रहरीले यसमा रोक लगाएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी अधिकारीहरू, नागरिक समाज र डीजे व्यवसायीहरूबीच भएको छलफलमा डीजे बाजामाथि रोक लगाउने निर्णय भएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय धनुषाले समेत डीजे बाजामाथि रोक लगाउने निर्णय गरेको भए पनि निर्णय कार्यान्वयन हुन सकेको थिएन । जिल्ला प्रशासनले यसअघि गरेको निर्णय कार्यान्वयन गराउने सम्बन्धमा डीजे व्यवसायीहरूसँगको छलफलपश्चात् पुनः यस्तो निर्णय गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।
शुक्रबार भएको छलफलमा कुनै पनि अवसरमा डीजेका साथै ठूलो आवाजमा ध्वनि निस्कने लाउड स्पिकर, दोहोरो अर्थ दिने गीत नबजाउनुका साथै कहीँकतै कुनै बहानामा अर्केस्ट्रा तथा नाचहरूसमेत गर्न नपाइने निर्णय भएको कार्कीले जानकारी दिएका छन् ।
उनले निर्णयको उल्लंघन गरेको खण्डमा तत्काल प्रहरीले नियन्त्रणमा लिई कानुनअनुसार कारबाही गर्न सर्वसम्मतिले निर्णय भएको बताए । समाजसेवी अमरचन्द्र अनिलले यसलाई कडाइका साथ अनुगमन गर्नुपर्ने सुझाब दिनुभएको छ ।
वैवाहिक कार्यक्रम, उत्सव, मेलाजस्ता कार्यक्रमहरूको मौकामा तराइमा डीजे, लाउडस्पिकरको प्रयोग हुँदै आइरहेको छ । अत्यधिक आवाज आउने गरी बजाइने यस्ता उपकरणका कारण छरछिमेकलाई समस्या हुनुका साथै शान्ति सुरक्षा कायम गर्नसमेत कठिनाइ हुने प्रहरीको भनाइ छ ।
सरकारले १३ कात्तिक २०६९ मा राजपत्रमा सूचना प्रकाशन गरी ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ जारी गरेको थियो । सरकारले औद्योेगिक क्षेत्रमा दिनमा ७५ र रातमा ७० डिसेबल, व्यापारिक क्षेत्रमा ६५ र ५५ डिसेबल, ग्रामीण आवास क्षेत्रमा ४५ र ४० डिसेबल, शहरी आवास क्षेत्रमा ५५ र ५५ डिसेबल, मिश्रित आवास क्षेत्रमा ६३ र ४० डिसेबल र शान्त क्षेत्रमा ५० र ४० डिसेबल गरी ६ क्षेत्रको ध्वनिको सीमा निर्धारण गरेको छ ।
विशेषज्ञका अनुसार ध्वनि प्रदूषणले उच्च रक्तचाप र तनाव बढ्ने, श्रवण शक्ति गुम्ने, निद्रा नलाग्नेजस्ता समस्या निम्त्याउँछ । ध्वनि प्रदूषणले हृदयाघात, पक्षघात, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई बढी असर गर्ने स्वास्थ्यकर्मीको बताउँछन् । धनुषामा डीजेका कारण एक पटक गोली पनि चलेको थियो
प्रतिकृया दिनुहोस