सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशको नेतृत्वकर्ता र व्यवस्थापकबीच कामको तालमेल हुन सकेमा मुलुकलाई स्वर्ग बनाउन सकिने बताएका छन् ।
शनिबार १६ औं राष्ट्रिय युवा इन्जिनियर सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले राजनीतिक तहबाट आएका विकासका खाकालाई मूर्त रुप दिन व्यवस्थापकहरू सचेत ढंगले लाग्नुपर्ने बताएका हुन् ।
मन्त्री मानन्धरले ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए । नेपाल विश्वकै सबैभन्दा सुन्दर मुलुक भएको बताउँदै केही वर्ष सबै मिलेर मेहनत गर्न सके समृद्धि समेत हासिल हुने उनकाे भनाइ छ ।
नेपाल पृथ्वीको स्वर्ग भएको बताउँदै मन्त्री मानन्धरले स्वर्गलाई समृद्धिले भरिपूर्ण बनाउने दायित्व सबैको काँधमा भएको बताए । नेपालजस्तै जैविक विविधताले भरिपूर्ण मुलुक विश्वमा अर्को नभएको बताउँदै उनले अब प्रकृतिले दिएका उपहारलाई समृद्धिको माध्यम बनाउनुपर्नेमा जाेड दिए ।
प्रकृतिले दिएका उपहारसँगै पुर्खाको पौरख पनि रहेको बताउँदै मन्त्री मानन्धरले नेपालको मौलिक कला र संस्कृति पनि विश्वका लागि अध्ययनको क्षेत्र भएको बताए । प्राकृतिक सम्पदा र साँस्कृतिक धरोहरका कारण नेपालले विश्वकै ध्यान केन्द्रित गरिरहेको बताउँदै उनले अब नेपालीहरूका बीचमा केही गरौं भन्ने भावना र विकासको चाहना तीव्र हुनुपर्ने बताए ।
आइतबारदेखि सुरु हुने युवा इन्जिनियरहरूको सम्मेलनमा १६ सय इन्जिनियरहरू सहभागी हुँदैछन् ।
प्रतिकृया दिनुहोस