• फिचर समाचार

    झापामा विराट धार्मिक सांस्कृतिक महोत्सव लाग्दै

     


    ओमकार संवाददाता

    गौरादह कार्तिक ४
    गौरादहमा आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव – २०७६ हुने भएको छ । आध्यात्मिक जागरण सहित विभिन्न जातजाति, भाषा भाषी, धर्म संस्कृति तथा रितिरिवाज र परम्परालाई संरक्षण, सम्बर्द्धन गर्दै आन्तरिक पर्यटनलाई मद्दत पुर्याउने उद्देश्यले मंसिर ८ गते देखि १६ गतेसम्म गौरादहमा आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव गर्न लागिएको हो ।

    महोत्सव समारोह समितिले पर्यटन महोत्सवबारे जानकारी गराउन आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा गौरादह नगरपालिकामा सुविधा सम्पन्न सामुदायिक सत्संग हल निर्माण, आध्यात्मिक चेतनाको माध्यमबाट नैतिकवान तथा चरित्रवान नागरिक र लागु पदार्थको दुव्र्यसनी जस्ता कुलतमा लागेका युवाहरुको लागि लक्षित कार्यक्रम सञ्चालन गर्ने महोत्सवका संयोजक तिलक खनालले बताए । गौरादह क्षेत्रमा रहेका विभिन्न सामाजिक, धार्मिक संघ संस्था तथा संगठनहरुको बृहत् सहभागिता गराउदै आयोजना गर्न लागिएको महोत्सवको संयोजन नेपाल मानव धर्म सेवा समितिले गर्ने जनाइएको छ ।

    गौरादह नगरलिका वार्ड नं. ४ थामी डाडामा निर्माण भइरहेको आध्यात्मिक समुदायिक भवनलाई पुर्णता दिने मुख्य उद्देश्यले हुन लागेको यस महोत्सवमा बिश्व मै प्रसिद्ध रहेकी पाथीभरा देवीलाई महोत्सव स्थलमै पूजापाठ गर्न सक्ने गरि प्रतिमा प्रतिस्थापन गरिने, गौपुजनको महत्त्व दर्शाउनको लागि महोत्सव स्थलमै गौशाला स्थापना गरिने, सालिग्राम पर्वतको स्थापना गरि पुजा अर्चना गराइने, गौरादह क्षेत्रमा रहेका आध्यात्मिक पुरातात्त्विक महत्त्व भएक विभिन्न स्थानीय शक्तिपिठहरु लाई महत्त्वका साथ पर्चा पम्प्लेट, फ्लेक्स तथा होडिङ बोर्ड मार्फत परिचित गराइने, साथै विभिन्न धर्म जातजाति, भाषाभाषी, धार्मिक पुस्तक, स्थानीय उत्पादनका स्टलहरु राखिने अध्यक्ष खनालले बताए बताए ।

    महोत्सवमा आध्यात्मिकता झल्काउने चित्रकला र मूर्तिकलाको प्रतिकात्मक सन्देश फैलाउने तस्विरहरु राखिनुका साथै उदघाटन् कार्यक्रमका दिन ५००१ शान्ति कलशसहितको सोभा यात्रा उक्त धार्मिक यात्रामा भारतीय प्रख्यात ब्याण्डले साथ दिने छ । लक्ष्मीको प्रतीक मानिने गाइ समेत शोभा यात्रामा रहने बताइएको छ ।

    महोत्सवमा अन्तर्राष्ट्यि रुपमा ख्याती कमाएका युवा व्यासार्चाय तथा भुवन गुरु फाउन्डेसनका सञ्चालक भुवन गुरुको मुखारविन्दुबाट अन्तर्राष्ट्यि कलाकार सहित संगीतमय श्रीमत् भागवत महापुराण कथावाचन हुनेछ । विभिन्न महोत्सव स्थलमा मानव उत्पति र विकासक्रम झल्काउने खालका रहस्यमय चित्रकलाहरुको प्रदर्शनी, लोकप्रिय धार्मिक पर्टकीय क्षेत्रको बारेमा तयार पारीएका खोज मूलक वृत्रचित्रहरुको प्रदर्शनी, स्व. नरबहादुर डिट्ठाको स्मरणमा तयार पारिएको एकांकी नाटक प्रदर्शनी तथा नैतिक आचरण र शिक्षा प्रदान गर्न सकिने लघु नाटकहरुको प्रदर्शनी लगायत मुख्य महोत्सवका आकर्षणहरु रहने छन् ।

    पत्रकार सम्मेलनमा गौरादह नगरपालिका वार्ड नं. १ का अध्यक्ष नगेन्द्र भण्डारीले पर्यटन महोत्सवले यस क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक रुपमा रहेका पुरातात्विक धरोहरहरु, स्थानिय विभिन्न जाति जातिको भाषा, कला, संस्कृति लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गराइ पर्यटन वर्ष २०२० लाई स्वागत गर्ने बताए । नगरप्रवक्ता समेत रहेका भण्डारीले महोत्सवले गौरादहलाइ देश विदेशमा परिचीत गराउन सक्ने कुरामा आफू विश्वस्त रहेको धारणा राखे । हरेक भाषा, धर्म, सम्प्रदाय, रितिरिवाज तथा परम्परालाई एउटै मञ्चमा राखेर एकताको सन्देश दिन आवस्यकता रहेकोे आफुले महसुस गरेको बताउदै उनले यो महोत्सव नेपालमै उदाहणिय हुने विश्वास व्यक्त गरे ।

    यस क्षेत्रमा रहेका पुरातात्विक महत्व बोकेका क्षेत्रहरुको संरक्षण, सम्बर्दन र पहिचान महोत्सवको मुख्य उद्देश्य रहेको भन्दै यो महोत्सवले आन्तरिक पर्यटनको लागि एउटा राम्रो गन्तव्यको रुपमा परिचित हुदै जाने वडा अध्यक्ष भण्डारीले बताए । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल पार्नको लागि यो महोत्सवले टेवा पुर्याउने उनले बताए ।

    आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सवले आध्यात्मिक चेतनाको माध्यमबाट नैतिकवान तथा चरित्रवान नागरिक बनाउने उत्प्रेणा दिने र लागूपदार्थ दुर्व्यशनीमा लागेका युवापुस्तालाई समेत जागरण गराई जिवन परिवर्तन गर्न ठुलो सहयोग पुग्ने सन्तमहात्मा गौमुखी बाइजीको भनाइ रहेकोे थियो । महोत्सवमा अनुमानित १२ लाख रूपैयाँ खर्च हुने आयोजक पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

    प्रतिकृया दिनुहोस