मकवानपुर: जिल्लाको भीमफेदी गाउँपालिका १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले सोमबारबाट विद्युत उत्पादन परीक्षण शुरु गरेको छ। सो आयोजनाबाट १४ मेगावाट विद्युत उत्पादन गरी काठमाडौँस्थित विद्युतको केन्द्रीय ग्रिडमा जोडिएको उक्त आयोजनाले जनाएको छ।
नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले संयुक्तरुपमा चार अर्ब ६३ करोडको अनुदानमा करिब १२ वर्षअघि सो आयोजना निर्माणका लागि लिखित सम्झौता भएको थियो।
उक्त आयोजनाबाट उत्पादित विद्युत अब नियमित रुपमा उत्पादन भइरहने सो आयोजनाले जनाएको छ। कुलेखानी तेस्रो आयोजनाको विद्युतलाई नियमित उत्पादन गर्नेतर्फ कुलेखानी आयोजना प्रथम र दोस्रो अयोजनाबाट निस्केको पानीबाट मात्र नियमित क्षमतानुसार विद्युत् उत्पादन हुने कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवासकुमार मिश्रले बताए।
उनका अनुसार, आयोजनाको निर्माण अवधि विभिन्न कारणले लम्बिएर करिब १२ वर्षपछि मात्रै विद्युत उत्पादन गर्ने प्रयास सफल भएको हो। कुलेखानी पहिलोबाट दोस्रो सञ्चालन हुने र दोस्रो आयोजना सञ्चालन भएपछि मात्रै तेस्रो आयोजनामा विद्युत उत्पादन गर्न पानीको आपूर्ति पूरा हुने आयोजना प्रमुख मिश्रले बताए।
भैँसेस्थित कुलेखानीको दोस्रो आयोजनाबाट निस्केको पानीलाई भीमफेदी गाउँपालिका १ सानुटारस्थित विद्युत गृहसम्ममा करिब चारहजार २०० मिटर भूमिगत सुरुङ मार्गबाट पानी ल्याउने गरिएको सो आयोजनाले जनाएको छ।
केही हप्ताअघिदेखि सानुटारस्थित विद्युत गृहमा चिनियाँ प्राविधिकले आवश्यक उपकरण जडान गरेपछि विद्युत् उत्पादन गर्न सफल भएको आयोजनाका प्राविधिकको भनाइ छ। रासस
प्रतिकृया दिनुहोस