सामुन्द्रिक सतहबाट ४ हजार ५ सय ५० मिटर उचाइमा रहेको दोलखाको च्छोरोल्पा हिमतालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मध्य वर्षा र जाडोको समयमा पुग्न नसकिने च्छोरोल्पा हिमतालमा यो समय उपयुक्त हुने भएकाले यतिवेला हिमताल हेर्न जानेको संख्या बढ्दै गएको हो ।
गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत पर्ने च्छोरोल्पा हिमताल स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्रविन्दु बन्दै आएको छ । पछिल्लो समय मौसमअनुकूल भएका कारण पनि पर्यटकहरूको संख्यामा वृद्धि भएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आयोजना प्रमुख सत्यनारायण शाहले उपयुक्त मौसम र पदमार्गसमेत सहज र सुरक्षित भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा च्छोरोल्पा हिमताल परेको बताए ।
आइतबार च्छोरोल्पा हिमताल पुगेर चरिकोट आइपुगेका लामीडाँडाका एक युवा पदमराज पाठकले च्छोरोल्पा हेर्न जाने पर्यटकहरू बढेको बताए । उनका अनुसार बेदिङ र ना गाउँमा भएका सबैजसो होटेल खचाखच भरिएका छन् । विदेशी पर्यटहरू भने टेन्ट टाँगेर खुला क्षेत्रमा वास बस्ने गरेका छन् ।
चार सय विदेशी पर्यटक पुगे
गौरीशंकर संरक्षण क्षेत्रका अनुसार २०१९ मा मात्रै च्छोरोल्पा हिमताल र संरक्षण क्षेत्र अवलोकन गर्ने विदेशी पर्यटकको संख्या तीन सय ९६ जना पुगेको छ । संरक्षण क्षेत्रका प्राकृतिक स्रोत संरक्षण सहायक रविन श्रेष्ठले विदेशी पर्यटकको संख्या विगतमा भन्दा बढेको जानकारी दिए । संरक्षण क्षेत्र आयोजनाका अनुसार पर्यटकहरूबाट झन्डै १० लाख रुपैयाँ राजस्व संकलन भएको छ । च्छोरोल्पा पुग्ने आन्तरिक पर्यटकहरूको भने तथ्यांक राख्ने गरिएको छैन । स्रोतका अनुसार च्छोरोल्पा पुग्ने विदेशी पर्यटकको तुलनामा आन्तरिक पर्यटकको संख्या भने धेरै गुणा बढी हुने गरेको छ ।
यसरी पुगिन्छ च्छो–रोल्पा हिमताल
दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा रहेको हिमताल पुग्न दोलखा सदरमुकाम चरिकोटबाट तीन घन्टाको सवारी यात्रापछि पैदल हिँड्नुपर्छ । सामान्यतया राजधानी काठमाडौंबाट च्छोरोल्पा पुगेर फर्किन ६ दिन लाग्ने गौरीशंकर संरक्षण क्षेत्रले जनाएको छ । हिमताल पुगेर फर्किने पर्यटकहरूका अनुसार एक व्यक्तिबराबर आठदेखि १० हजार रुपैयाँ खर्च हुन्छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।
प्रतिकृया दिनुहोस