• पत्र-पत्रिका

    श्रीमतीलाई परपुरुषसंग भेटेपछि श्रीमतीको हत्या

      ओमकार


    भारतबाट मजदुरी गरेर आएका कैलालीका एक युवाले घरमा श्रीमतीलाई परपुरुषसँग भेटेपछि हत्या गरेका छन् । कैलालीको लम्की चुहा नगरपालिका– १, भरुवाका धीरेन्द्र थापाले आफ्नी श्रीमती जानकी बिक थापालाई घरमा अर्कैसँग भेटेपछि कुटपिट गरेका थिए । सोही पिटाइबाट जानकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    प्रहरीले उनकी श्रीमतीसँग भेटिएका पुरुषलाई भने हाल तारेखमा छाडेको छ । ‘२१ गते कुटपिट भएको भए पनि प्रहरीलाई २४ गते मात्रै थाहा भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

    श्रीमानको कुटाइबाट अचेत अवस्थामा भेटिएकी थापालाई उपचारका लागि नेपालगन्ज पठाइएको थियो । उपचारपछि घर फर्किएकी थापालाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा आइतबार राति करिब ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जानकीको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनका श्रीमान् धीरेन्द्रलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ । धीरेन्द्रलाई कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता हुने प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए ।शिलापत्रबाट ।

    प्रतिकृया दिनुहोस