• खेलकुद

    सन्दीपको टिमले जित्यो सीपीएल उपाधि

      ओमकार


    काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टोली बार्बाडोस ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिग (सीपीएल) को उपाधि जितेको छ ।

    आइतबार बिहान भएको फाइनल खेलमा बार्बाडोसले ग्युएना अमेजन वारिवर्सलाई २७ रनले हराउँदै उपाधि जितेको हो । यद्यपी यस खेलमा सन्दीप थिएनन् । 

    सन्दीपले सीपीएलमा ६ खेल खेलेर नेपाली राष्ट्रिय टोलीमा सामेल हुन ओमन आएका थिए । सीपीएलमा यस सिजन सन्दीपले ६ खेल खेल्दै आठ विकेट लिएका थिए ।

    बार्बाडोसले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको वारिवर्सले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४४ रन मात्र बनाउन सकेको थियो । वारिवर्सका लागि ब्राडोन किङले सर्वाधिक ४३ रन बनाए । 

    किमो पाउलले २५ र निकोलस पुरनले २४ रन बनाए । बार्बाडोसका  रेमन रिफरले चार विकेट लिए । ह्यारी गुरने र एस्ले नर्सले दुई दुई विकेट झारे ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो । बार्बाडोसका जोनाथन कार्टरले अविजित ५० रन बनाए । 

    जोनसन चाल्र्सले ३९ र एलेक्स हेल्सले २८ रन बनाए । वारिवर्सका इमरान ताहिर, वेन लघलिन, रोमारियो सेपहर्ड, किमो पउलले एक एक विकेट लिए । 

    प्रतिकृया दिनुहोस