काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको शुभकामना दिँदै वर्तमान शासन व्यवस्थामाथि नै प्रश्न उठाएका छन्। आज एक भिडियो सन्देश मार्फत दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको दाबी गरे।
उनले दलहरु पदलोप, सत्ता स्वार्थ र भागबण्डामा अल्झिएको आरोपसमेत लगाएका छन्। शाहले कार्यपालिका, व्यस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद, विग्रह र विकृतिले सर्वत्र प्रश्न उठेको बताए।
‘यो अवस्थाले जनतामा उत्साह छैन । मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा छैन । के गर्ने, के गर्न नहुने, के न्यायिक मूल्य हो र के हैन यी सबै कुराको निराकरण कसले गर्ने, को बाट हुने’, पूर्वराजा शाहले भनेका छन्, ‘देश र जनतासामु खड्किएको ज्वलन्त प्रश्न यही हो। देशकाप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि–व्यवस्था, संगठन एवम् प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको छ ।’
आफ्ना सनातनी मूलभूत महिमालाई विथोलेर, केही संरचना बदलेर र केही नामान्तर गरेर सुन्दर तथा नौलो नेपाल नहुने कुरा प्रमाणित भइसकेको पनि पूर्वराजा शाहले जिकिर गरेका छन्।
‘प्रयोग र अभ्यासबाट नै देशलाई बचाउने र बनाउँदै जाने हो। देशका मौलिक मूल्य र सही विकल्पतर्फ हाम्रो मनोभाव बढ्दो रूपमा पाइन्छ । पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई विथोलेर, केही संरचना बदलेर र केही नामान्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दो रहेनछ। त्यसैले बलियो मियोमा आवद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउन आवश्यक छ’, शाहले भनेका छन्।
उनले रोजगारीका लागि होनाहार नेपालीहरू विदेश गएर भूभागलाई उजाड बनाएको अवस्थामा बाहिरियाहरूलाई भित्र्याएर वास्तविक नेपालीलाई धरापमा पार्न खोजिएको आरोप पनि लगाएका छन् । उनले नेपाल निरन्तर विदेशीहरूको क्रिडास्थल बनेको जनगुनासो व्याप्त रहेको पनि बताएका छन् ।
प्रतिकृया दिनुहोस