• देश

    चिनियाँ राष्ट्रपतिले चढ्ने गाडी नेपालमा

      ओमकार


    काठमाडौ : उच्चअधिकारी सहित भोली शनिबार अप्रान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा ओर्लन लागेका सी जिनफिङ तीनवटा विमान साथमा लिएर आउदैछन् ।

    नेपालमा चिनियाँ राष्ट्रपति सीका लागि उपयुक्त गाडी नभएको भन्दै नेपाल भ्रमणका क्रममा राष्ट्रपति सीले आफ्नै गाडी चढ्ने भएका छन् । श्रोतका अनु्सार उनी चढ्ने गाडीसँगै उनको सुरक्षार्थका लागि अन्य दुई गाडी गरी ३ वटा गाडी काठमाडौ आईसकेका छन् ।

    भारत भ्रमणमा पनि आफू चढ्ने गाडी लगेर गएका सीले नेपालमा पनि आफ्नै गाडी चढ्नेछन् । तर उनीसँग सँगै आउने अन्य चिनियाँ अधिकारीका लागि भने सरकारले आवश्यक गाडीको बन्दोबस्त गरिसकेको छ ।

    उता चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने भएको छ । पाँच अति विशिष्ट व्यक्तिको सुरक्षाको जिम्मेवारी सेनाको हुने प्रचलनअनुसार सीको भ्रमणमा पनि नेपाली सेनाबाटै पिएसओ खटिनेछन् । सेनाकै नेतृत्वमा सुरक्षा योजना बनिरहेको छ । यद्यपि, राष्ट्रपति सीको पहिलो भित्री घेरामा भने चिनियाँ सेना नै हुनेछ ।

    राष्ट्रपति सी सोल्टी होटेलमा बस्नेछन् । उनको सवारी रुटमा सेनाको हेलिकोप्टरले समेत स्कर्टिङ गर्नेछ । सीको सवारीका क्रममा कम्तीमा एक घण्टा सडक पुरै खाली गराइनेछ । सवारी रुटमा पर्ने अग्ला घरहरूमा सुरक्षाकर्मी बस्नेछन् । त्यस्तै उनको रुटमा सिसिटिभीको कभरेज हुनेछ । काठमाडौंका अन्य सडकमा जोडिएका सिसिटिभीसमेत सोही रुटमा सारिएको छ ।

    सीको भ्रमणलाई लक्षित गरी उपत्यकामा एक हजार आठ सय प्रहरी थप गरिएको छ । सातै प्रदेशबाट थप मद्दतका लागि प्रहरी झिकाइएको हो । थप मद्दतका लागि झिकाइएका प्रहरी बिहीबारदेखि नै परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले बताए । उनीहरूलाई सीको रुटमा खटाइनेछ । विमानस्थलदेखि सोल्टी होटेलसम्मको सडकमा ती सुरक्षाकर्मी खटिनेछन् ।

    प्रतिकृया दिनुहोस